काठमाडौं । राजधानीको बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा फिर्ता प्रक्रिया सुरु भएको छ । व्यवसायी अरुण चौधरीलगायतलाई उन्मुक्ति दिने गरी भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले च्याम्पियन फुटवेयरका नाममा २१ दिने सूचना जारी गरेको हो ।
चाँदबाग रेसिडेन्सीका सञ्चालक समिति अध्यक्ष समेत रहेका सञ्जय ठाकुरलाई २१ दिनभित्र आफैँ वा वारेसमार्फत् उपस्थित हुन मालपोत कार्यालयले पत्र काटेको छ ।
अध्यक्ष अरुण चौधरी, चाँदबागका अध्यक्ष ठाकुर र बाँसबारी छालाजुत्ता कम्पनीका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापा जग्गा हिनामिना प्रकरणमा पक्राउ परेर हाजिरी जमानीमा छुटेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले कीर्ते र ठगीमा अनुसन्धान गरिरहेको बेला मालपोतले जग्गा फिर्ता ल्याउने प्रक्रिया थालेको हो । चाँदबाग सिजी होल्डिङ्सअन्तर्गत सञ्चालित कम्पनी हो ।




