गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले बिरामीले एम्बुलेन्स चालकहरुलाई फोन गर्दा पैसा नलाग्ने सिमकार्ड उपलब्ध गराएको छ ।
पालिका भित्रका सवै एम्बुलेन्स चालकहरुलाई फोन गर्दा पैसा नलाग्ने कर्पोरेट सिमकार्ड चालकलाई उपलब्ध गराएको गाउँपालिका अध्यक्ष दीपक तिमल्सिना (साकार)ले जानकारी दिए ।
पालिका भित्र सञ्चालित एम्बुलेन्सहरूले प्रदान गर्ने सेवामा थप सुविधा पुगोस् भन्ने उद्देस्य सहित चालकलाई सिमकार्ड सहित मोबाईल प्रदान गरिएको उनको भनाई छ ।
अध्यक्ष तिमल्सिनाले भने, ‘‘सेवाग्राहीहरुले एम्बुलेन्स चालकलाई आकस्मिक समयमा फोन गर्दा नेटवर्क नलाग्ने वा व्यस्त हुने र चालकले फोन गर्दा वा फोन फर्काउदा व्यक्तिगत फोन खर्च हुने भएकाले पालिकाले निःशुल्क कल गर्न सक्ने व्यवस्था सहितको सिमकार्ड र मोवाइल सेट उपलब्ध गराएको हो ।’’
यसवाट सेवाग्राही र चालक दुवैलाई सुविधा पुग्ने अध्यक्ष तिमल्सिनाले बताए । गण्डकी गाउँपालिले पालिका भित्र मकैसिङ, दर्वुङ र भुम्लिचोक स्वास्थ्य चौकीहरु मार्फत सवै वडाहरुका नागरिकहरुलाई एम्बुलेन्स सेवाको सहज पहुँच पुग्ने गरी एम्बुलेन्स सञ्चालन गर्दै आएको छ ।
‘‘अवदेखि बिरामी वा सेवाग्राहीको फोन आएर काटिएमा वा मिसकल आएमा चालकले कल फर्काउन मोवाइलमा पैसा छैन भन्नुपरेन, उनले भने, ‘‘पालिकाले उपलब्ध गराएको सिमकार्ड सहितको मोवाइलबाट निःशुल्क रुपमा फोन गर्न पाउने भएपछि थप सजिलो हुनेछ ।’’
सेवाग्राहीलाई फोन गर्दा शुल्क नलाग्ने भएपछि चालकहरुले बिरामी आउदा जाँदा लाग्ने फोन खर्चबाट छुटकारा पाएका छन् । गण्डकी गाउँपालिकाले पालिका भित्रका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि अस्पतालसम्म लैजान र ल्याउनका लागि केही समय अगाडीदेखी निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउदै आएको छ ।



