काठमाडौं । जिल्ला अदालत काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर भिजिट भिसामा नेपालीलाई विभिन्न देशमा पठाएको आरोपमा अध्यागमन अधिकृतसहित ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।
न्यायाधीश कपिलमणि गौतमको एकल इजलासले अधिकृत नरवीर खड्का, अरुण दाहाल, सरोजकुमार यादव र मनोज तामाङलाई मंगदबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
भिजिट भिसा प्रकरणमा अन्य ६ जनालाई भने धरौटीमा रिहा गर्न आदेश गरेको गरेको छ । दिनेश ज्ञवाली र रामप्रसाद भण्डारीसँग ७–७ लाख, गीता शाहसँग ५ लाख, विनोद कार्कीसँग २ लाख तथा पदम लामा र रविन अर्यालसँग १–१ लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएको छ ।
भिजिट भिसामा युवालाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा ९ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध गएको माघ १८ गते सरकारी कागजात कीर्ते गरी सङ्गठित अपराध गरेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालयले फरार १२ जनासहित २२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
अध्यागमन अधिकृत खड्कालाई गएको मङ्सिर १८ गते सरकारी कागजात कीर्ते गरी नेपाली नागरिकलाई भिजिट भिसामार्फत विदेश पठाउने गिरोहमा सक्रिय रहेको आरोपमा पक्राउ गरिएको थियो ।




















