गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा दीर्घरोगीका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ । चालु आर्थिक वर्ष २०८०-०८१ मा विनियोजित बजेटमार्फत पालिकाभित्रका सबै गर्भवती तथा दीर्घरोगीका लागि स्वास्थ्य बीमा गर्न सुरु गरेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
पालिकाले दीर्घरोगी र गर्भवतीका लागि वार्षिक १ लाखसम्मको स्वास्थ्य बीमाको थालनी गरेको छ । स्वास्थ्य बीमा कार्यक्रमले लक्षित परिवारमा अबदेखि सहज स्वास्थ्य सेवाको पहुँच उद्वेश्यका साथ सेवाको थालनी गरेको पालिकाले जनाएको छ ।
गाउँपालिकाले–६ भुम्लिचोकबाट विश्व ‘क्यान्सर’ दिवसका अवसर पारेर स्वास्थ्य बीमा कार्यक्रमको थालनी गरेको हो ।
आग्रीडाँडा सामुदायिक स्वास्थ्य एकाइमा ‘क्यान्सर’पीडित परिवार तथा गर्भवतीलाई स्वास्थ्य बीमा फारम उपलव्ध गराएर बीमा कार्यक्रमको औपचारिक सुरुआत गरिएको पालिकाले जानकारी दिएको छ । कार्यक्रम सुरु भएसँगै पालिकाभित्रका सबै गर्भवती तथा सूचीकृत भएका दीर्घरोगीलाई निःशुल्क स्वास्थ्य बीमा उपलव्ध हुने भएको छ ।
कार्यक्रम लागु भए संगै गर्भवतीले सुत्केरी हुँदा लाग्ने खर्च तथा आमा र बच्चाको स्वास्थ्योपचारमा खर्चमा न्यूनीकरण हुनेछ भने नियमितरूपमा औषधि सेवन गर्नुपर्ने तथा उपचार गर्नुपर्ने दीर्घरोगीका लागि कार्यक्रमले उपचारका लागि थप सहजता प्रदान गर्ने आशा पालिकाले लिएको छ ।
गण्डकी गाउँपालिकाभित्र अहिलेसम्म सूचीकृत भएका ८४ दीर्घरोगी छन् । दीर्घरोगी तथा गर्भवतीलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्षका लागि १० लाख बजेट विनियोजन गरेको छ ।
कार्यक्रम अब निरन्तर चल्नेछ र बीमा गर्दा गर्भवती तथा दीर्घरोगीका परिवारका ५ जना सदस्यको समेत निःशुल्क स्वास्थ्य बीमा हुने गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।




















