काठमाडौं । नेकपा (एमाले)ले संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने तयारी गरिरहेको छ । संसदीय दललेको बैठकले सङ्घीय संसद्हरुले हिउँदे अधिवेशनमा अनिवार्य उपस्थित भएर प्रभावकारी भूमिका निर्वाह गर्न दलका सांसदलाई निर्देशन दिएको हो ।
सङ्घीय संसद्को हिउँदे अधिवेशन आज दिउँसो ४ बजेदेखि सुरु हुँदैछ । सो दलका सचेतक महेश बर्तौलाले आइतबार सम्पन्न दलको बैठकमा सो निर्णय भएअनुसार निर्देशन दिइएको जानकारी दिए ।
उनले चालु अधिवेधनका बैठकहरुमा विगतमा भन्दा अझ सशक्त र प्रभावकारीरुपमा प्रतिपक्षको भूमिका निर्वाह गरिने बताए ।
दलको बैठकले संसद्को अधिवेशनमा संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण, सामाजिक न्याय, सुशासन, समृद्धि र राष्ट्रिय हितमा प्रभावकारी भूमिका खेल्न पनि निर्देशन दिएको छ ।
सोही बैठकले युवा पलायन रोक्न र पश्चिम एसियामा बिग्रँदो शान्ति सुरक्षाको अवस्थालाई ध्यान दिई अप्ठ्यारोमा रहेका नेपाली युवालाई अविलम्ब स्वदेश फर्काउन सरकारसंग आग्रह गरेको छ ।


