गोरखा । गोरखाको नयाँसाँघुमा निःशुल्क मुटु जाँच शिविरमा १ हजारभन्दा बढीले सेवा लिएका छन् । सिरानचोक गाउँपालिका–६, नँया साँघुमा भएको शिविरवाट १ हजार ८२ जनाले सेवा लिएको आयोजक संस्थाले जनाएको छ ।
सिरानचोक गाउँपालिका र सेभ द हर्ट काठमाण्डौ र शहीद सुरेश वाग्ले (वासु) स्मृति प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा शनिवार भएको शिविरबाट १ हजार ८२ जनाले निःशुल्क सेवा लिएको प्रतिष्ठानका कोषाध्यक्ष विकास वाग्लेले जानकारी दिए ।
शिविरमा सेवा लिएका मध्ये २७१ जनाले इसिजी र १९८ जनाले इको जाँच गराएका उनले बताए । शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा.अनिल भट्टराईको नेतृत्वमा रहेका ९ जना विशेषज्ञ चिकित्सक सहित २४ जना स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गरेका थिए ।
‘उपचार सेवा लिएका मध्ये १४ जना मुटु रोगका गम्भीर विरामी फेला परेको कोषाध्यक्ष वाग्लेले जानकारी दिए । उनीहरुको तत्कालै अपरेशन गर्नुपर्ने देखिएकोले आवश्यक समन्वय भईरहेको पनि उनले बताए ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर तथा शहिद गंगालाल हृदय केन्द्रको प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको हो । शिविरमा मुटु जाँचका लागि आएका व्यक्तिहरुलाई निःशुल्क औषधी तथा परामर्स सेवा दिईएको डा.अनिल भट्टराईले बताए ।
आफ्नै गाउँठाउँमा विशेषज्ञ सहितको टोलीबाट निःशुल्क मुटुको जाँच गर्न पाएकोमा सेवाग्राहीहरु खुशी भएका थिए ।




















