काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल मा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गरेर बिजयी भएको हो ।
उपाधि संगै पुलिस क्बलले १० लाख रुपैयाँ हात पारेको छ । उपविजेता त्रिभुवन आर्मी क्लबले ५ लाख हात पार्न सफल भएको छ ।
आर्मीले दिएको १८२ रनको सामान्य लक्ष्य पुलिसले ३५ दशमलव ५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्न सफल भएको थियो । पुलिसका लागि शङ्कर रानाले ४३ बलमा ५ चौका र ६ छक्काको मद्दतमा ६२ रन बनाए । यस्तै आरिफ शेखले २७, अमित श्रेष्ठले २८ र कुशल भुर्तेलले १४ रन बनाए ।
आर्मीका लागि जितेन्द्र मुखिया, कुशल मल्ल, सहाब आलम र बसिर अहमदले समान १–१ विकेट लिएका थिए ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १८१ रनको योगफल बनाएको थियो । उसका लागि विवेक यादवले ८१ बलमा ७ चौका र १ छक्काको मद्दतले ६३ रन बनाए ।
त्यसैगरी सोमपाल कामीले ३९, इमरान शेखले २८, कुशल मल्लले १७ तथा जितेन्द्र मुखियाले अविजित १६ रन बनाए ।
पुलिसका लागि दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले समान ३–३ विकेट लिए भने सागर ढकाल, कुशल भुर्तेल र करण केसीले समान १–१ विकेट लिए ।



