एजेन्सी । चिलीको मध्य भाल्पाराइसो क्षेत्रको जङ्गलमा लागेको आगलागिका कारण कम्तीमा १० जनाको ज्यान गएपछी शुक्रबारदेखी उक्त क्षेत्रमा आपतकालीन अवस्थाको घोषणा गरिएको छ ।
चिलीका अधिकारीहरूले ‘प्रारम्भिक’ ज्यान गुमाउनेको सङ्ख्या १० जनाभन्दा बढी भएको हुनसक्ने बताएपछि राष्ट्रपति गेब्रियल बोरिकले आगलागि नियन्त्रणका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध गराउन ‘विपत्तिका कारण आपतकालीन अवस्था घोषणा’ गर्ने घोषणा गरेका हुन् ।
आगलागि भिना डेल मार र भाल्पाराइसो पर्यटकीय क्षेत्रमा फैलिएको छ । चिलीको राष्ट्रिय बन प्राधिकरण कोनाफका अनुसार भाल्पाराइसोमा मात्रै करिब ४८० हेक्टर जमिन आगलागिले जलाइसकेको छ ।
एल निनो मौसमी घटनाका कारण दक्षिण अमेरिकाको दक्षिणी भागलाई प्रभावित गर्ने ग्रीष्मकालीन गर्मी र खडेरीका कारण डढेलो लागेको हो । वैज्ञानिकहरूले तीव्र गर्मी र डढेलोजस्ता प्राकृतिक प्रकोपहरूको जोखिम बढेको भन्दै सावधानीका लागि जानकारी गराएका छन् ।
चिली र कोलम्बियाले बढ्दो तापक्रमसँग जुधिरहँदा आगामी दिनमा अर्जेन्टिना, पाराग्वे र ब्राजिलमा पनि गर्मी बढ्ने बताएका छन् ।




















