मुग्लिन । मुग्लिन–नारायणगढ सडक खण्ड फेरी ३ साताको लागि बन्द हुने भएको छ । तुइन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः ३ साता दिउँसो सडक बन्द गरेर काम गर्न लागिएको हो ।
थप ३ साता सडक बन्द गरेर काम गर्ने निर्णय भएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यले जानकारी दिए । उनका अनुसार अब अन्तिम पटकका लागि ३ साता सडक बन्द गरेर काम गर्न लागिएको हो ।
यसअघि गएको पुस ७ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम हुँदै आएको थियो । त्यतिबेला ३ साता भनेर काम थाले पनि नसकिएपछि अर्को ३ साता थप भएको थियो ।
दोस्रोपटक थपिएको म्याद भोलि सकिँदैछ । यस अवधिमा पनि काम नसकिएपछि पुनः ३ सात दिउँसो ११ बजेदेखि ३ बजेसम्म सडक बन्द गरेर काम हुदै आएको छ ।
देशकै मुख्य मार्गको रुपमा रहेको यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी गाडी आवतजावत गर्दछ ।




















