गोरखा । जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेका आरोपमा गोरखाका १ जना युवक राजधानबाट पक्राउ परेका छन् ।
पक्राउ परेका ब्यत्ती पालुङटार नगरपालिका–१ खोप्लाङ घर भई हाल काठमाडौको सामाखुशी बस्दै आएका ३० बर्षीय भरत भट्टराई भएको प्रहरीले पुष्टी गरेको हो ।
भट्टराईलाई काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयले सामाखुशीबाट पक्राउ गरेको जनाएको छ ।
उनले जापान जान ८ लाख लाग्ने, जापान पुगेपछि होटलमा काम लगाइदिन्छु र मासिक १ लाख ७० हजार तलव हुन्छ भनेर प्रलोभनमा पारी बिमला लामाबाट पटक पटक गरी २ लाख रकम लिएको प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।
रकम लिएर सम्पर्क विहिन भएपछि लामाले प्रहरीमा निवेदन दिएको र सोही आधारमा खोजी गरी पक्राउ गरेको उनले बताए । पक्राउ परेका भट्टराईलाई थप अनुसन्धान तथा कारवाहीका लागी बैदेशिक रोजगार बिभाग पठाइएको छ ।




















