गोरखा । गोरखाको सिरानचोक गाउँपालिकामा कार्यरत १ जना प्रहरी कर्मचारीको चितवनमा भएको दुर्घटनामा परी निधन भएको छ । सिरानचोक गाउँपालिकाको अस्थायी प्रहरी पोष्ट धारापानीमा कार्यरत प्रहरी सहायक हवल्दार रमेश रानाको गए राती चितवनमा मोटरसाइलक दुर्घटनामा परी ज्यान गएको गोरखा प्रहरीले पुष्टी गरेको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठका अनुसार रुपन्देही जिल्ला कन्चन गाउँपालिका –४ घर भएका रानाको माघ १६ गते मंगलबार चितवनबाट काठमाण्डौ जाने क्रममा भरतपुर महानगरपालिका–२९ को पन्ध्रकिलो भन्ने स्थानमा निर्माणाधिन पुलबाट खस्न जादा गंभिर घाईते भएका थिए ।
राती ११ बजेको समयमा भएको उक्त दुर्घटना लगत्तै उद्वार गरी पुरानो मेडिकल कलेजमा उपचारको क्रममा राती ११ः३० बजे निधन भएको थियो ।
राना गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बाग्लुङ दरबन्दी भई अस्थायी प्रहरी पोष्ट धारापानीमा कार्यरत थिए । उनी गएको ११ गतेदेखी घर बिदामा बसेको पनि सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा रानाले चलाएको ग. २३ प. १५५९ नं.को मोटरसाईकल नियन्त्रण गुमाउदा पन्ध्रकिलो स्थित निर्माणाधिन पुलबाट खसेको थियो । सोही मोटर साइलकमा सवार दाजु नाता पर्ने बिकास कुमार पुनःको भने घाईते अवस्थामा अस्पतालमा उपचार भई रहेको छ ।




















