गोरखा । पछिल्लो केही बर्ष यता गोरखामा सर्पदंशको घटनामा बृद्वि हुन थालेको छ । यो आर्थिक बर्षको अधिल्लो ६ महिनामा मात्रै ५२ जनालाई सर्पले ढसेको स्वास्थ्य कार्यालय गोरखाका जनस्वास्थ्य अधिकृत नवराज ढकालले बताए ।
‘जिल्लामा पछिल्लो बर्षहरुमा सर्पदंशका घटना बढेको’ भन्दै ‘यो आर्थिक बर्षको साउनदेखी पौष मसान्तसम्म मात्रै ५२ जनालाई सर्पले ढसेको छ’ उनल भने । अधिकृत ढकालका अनुसार आर्थिक बर्ष २०७७/०७८ मा ७६ जना र ०७८/०७९ मा ६९ जना सर्पदंशका बिरामी फेला परेको छ । त्यस्तैगरी ०७९/०८० मा ६६ जना फेला परेकामा याे आर्थिक बर्षकाे ६ महिनामा मात्रै ५२ जना बिरामी फेला परीसकेकाे छ ।
‘गर्मी महिना आउनै बाँकी छ । अझै सर्पदंशका बिरामी फेला पर्न सक्ने’ भन्दै उनले भने ‘घटनाबाट जोगिन आफै सावधानी अपनाउन’ उनले आग्रह गरे । पछिल्लो समय गर्मी स्थानमा पाइने बिषालु सर्पहरु पहाडी क्षेत्रमा फेला पर्न थालेको कार्यालयको रकर्डमा देखिएको छ ।
सर्पदंशका बिरामीहरुलाई अवस्था चितवन रिफर गरिने गरेको गोरखा अस्पतालका डा.बिजय शर्माले बताए । गोरखा अस्पतालमा सर्पदंशका बिरामीहरुलाई उपचार गर्ने ब्यवस्था नभएका कारण अवस्था हेरी पठाउने गरीएको जानकारी दिए । उनका अनुसार सर्पदंश पछि बिरामीमा रगत पातलो देखिए वा मांसपेशी बिग्रन थाले तत्कालै चितवन पठाउने गरीएको छ ।
यता ल्याब टेक्निसियन निरिक्षक नारायणबावु अर्यालले केही समय अगाडी मात्रै पनि निकै बिषालु मानिएको र तराई क्षेत्रमा पाइने कोब्रा सर्प गोरखा अस्पताल परिषर भित्र देखिएको बताए ।
स्वास्थ्य कार्यालयका अनुसार बिषालु सर्प प्लाष्टिकको पाइप मार्फत उच्च हिमाली भेगतिर समेत पुगेको छ । पछिल्लो पटक उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको सिर्दीबास, फिलिम क्षेत्रमा पनि बिषालु सर्प देखिएको छ ।
यो आर्थिक बर्षको पहिलो ६ महिनामा सबैभन्दा बढी आरुघाट गाउँपालिकामा सर्पदंशका बिरामी धेरै देखिएको छ । जहाँ २७ जनालाई सर्पले ढसेको थियो । यसैगरी सिरानचोक गाउँपालिकामा ७ जना र भिमसेन थापागाउँपालिकामा ५ जना सर्पदंशका बिरामी फेला परेको छ ।
सदरमुकामको गोरखा नगरपालिका र अजिरकोट गाउँपालिकामा ३–३ जना, पालुङटार नगरपालिका र गण्डकी गाउँपालिकामा २–२ जना र बारपाक सुलिकोट, धार्चे र शहिद लखन गाउँपालिकामा १–१ जनालाई सर्पले ढसेको कार्यालयले जनाएको छ ।



