जुम्ला । बालविवाह रोक्ने उद्वेश्यले जिल्लाको तिला गाउँपालिका–६ ले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ ।
उमेर नपुग्दै विवाह गर्नेको सङ्ख्या बढेपछि गाउँपालिकाले पालिकाभित्रका सबै वडामा विवाहका लागि सिफारिस अनिवार्य गर्नुपर्ने परिपत्र गरेपछि आफ्नो वडाले विवाह गर्दा वडाको सिफारिस अनिवार्यलाई कडाइका साथ लागू गरिएको वडाध्यक्ष जङ्गबहादुर रोकायाले जानकारी दिए ।
कम उमेरमा विवाह हुँदा प्रजनन स्वास्थ्यमा समस्या देखिने र आमा तथा बच्चाकै ज्यान जोखिममा पर्न थालेपछि वडाले विवाह गर्न सिफारिस अनिवार्य गरेको हो । वडाध्यक्ष रोकायाले भने, “विवाह गर्दा वडाको सिफारिस अनिवार्य लागू गरिएको छ, वैशाखदेखि विवाह गर्दा नागरिकले अनिवार्य वडाबाट सिफारिस लिनुपर्ने नियम बनाएका छौँ ।”
कानुनीरूपमा विवाह गर्न २० वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था छ । तिला–६ मा पर्ने घोडे गाउँमा ६८, रिपी गाउँमा ३५ र सुडी गाउँमा ११० गरी जम्मा २१३ घरधुरी रहेका छन् । अहिले वडाको सिफारिस अनिवार्य गरेपछि वैशाखयता ५ जना उमेर पुगेका विवाह गर्ने जोडीले सिफारिस लिएका छन् ।
विवाहका लागि सिफारिस लिन आउने व्यक्ति तथा सेवाग्राहीले अनिवार्य जन्मदर्तासहित वडामा निवेदन पेस गर्नुपर्ने हुन्छ । उमेर नपुग्दै विवाह गर्ने सुडीगाउँमा २ र घोडेगाउँमा १ बालविवाह गर्नेलाई रोक्ने काम भएको वडाध्यक्ष रोकाया बताए । वडाको सिफारिस अनिवार्य गरे पनि तिलाका अरु वडाले प्रभावकारीरुपमा निर्णयलाई कार्यान्वयन गर्न सकेको छैन ।
वडाध्यक्षहरुले गाउँमा हुने विवाहलाई उमेर पुगे÷नपुगेको जानकारी लिनका लागि प्रभावकारी भूमिका खेल्नुपर्ने गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताए ।



