काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सिनेमामा अभिनय गर्ने भएका छन् । उनले फिल्म ‘नमेटिने घाउ’ काे अभिनयमा डेब्यु गर्दै त्यसमा प्रधानमन्त्रीको भूमिमा देखिन लागेका हुन् ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा फिल्मको घोषणासंगै शुभमुहूर्तको जानकारी दिइएको हो । यस फिल्ममा ओली प्रधानमन्त्रीको भूमिकामा देखिने लागेको फिल्म निर्माण टीमले जानकारी दिएको छ ।
रमित ढुंगानाको लगानी तथा निर्देशनमा बन्ने फिल्ममा एसिडपीडित मुस्कान खातुनको जिवनीमा आधारित हुनेछ । यस फिल्ममा मुस्कानसहित सुरवीर पण्डित, सिम्रन खड्कालगायतको अभिनय रहेने छ ।
ओली प्रधानमन्त्री भएको बेला एसिड आक्रमणकारीहरूलाई कडा सजाय गर्ने कानून ल्याएको र पीडितहरूलाई राहत र क्षतिपूर्तिको व्यवस्था गरेकाले ओलीको हातबाट चलचित्रको शुभमुहूर्त गर्न लागिएको निर्माण टीमले जनाएको छ ।
मुस्कान खातुनमाथि २०७६ सालको भदौ २० गते वीरगन्जको रेशम कोठीस्थित त्रिभुवन हनुमान उच्च माविमा पढ्न जाँदै गर्दा एसिड प्रहार भएको थियो । एसिड आक्रमणबाट उनको अनुहारको एकातर्फको भाग जलेको छ ।
फिल्म निर्माणका लागि वीरगन्ज महानगरपालिकाले ५ लाख रुपैयाँ सहयोग गरेको पनि कार्यक्रममा जानकारी गराइएको थियो ।



