तस्बिर बिनाेद श्रेष्ठ/मुग्लिन
मुग्लिन । मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलाको भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको छ । भित्तो काट्ने काम यसै महिनामा सकिने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी ई.कृष्ण आचार्यले जानकारी दिए ।
उक्त खण्डको मुग्लिङ–नारायणगढ बाटोमा मध्याह्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म सवारीसाधन रोकेर काम गरिँदै आइएको छ । सूचना अधिकारी आचार्यका अनुसार ६० मिटर अग्लो भित्तोको एकातर्फको भाग ११ मिटर र अर्कोतर्फ १४ मिटर तलसम्म झरीसकेको छ । उनका अनुसार मुग्लिनतर्फ १४ मिटर बाँकी छ भने खोलातर्फ ११ मिटर बाँकी छ । पुरै कामको ८० प्रतिशत काम सम्पन्न भएको छ ।
पहिलो पटक ३ साता र दोस्रो पटक थप ३ साताको म्याद यही माघ २० गते सकिदैछ । दोस्रो पटक म्याद थपेपछि ४ दिन काम गर्न नपाएको भन्दै उनले केही दिनमात्रै थप गरेर माघभित्रमा भित्तो काट्ने सबै काम सकिने जानकारी दिए ।
आचार्यका अनुसार ६० मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको थियो । बाँकी ३५ मिटर भित्तो स्पिलटर र हाइड्रोलिन ज्याक हेम्भर प्रयोग गरेर फोर्दै आइएको छ ।
सो सडकका १९ पुलमध्ये ४ पुल ४ वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो । विसं २०७६ चैत १० गतेदेखि पुलको निर्माण थालिएको हो । पुलको लागत १ अर्ब २८ करोड छ । हालसम्म उक्त खण्डमा ८ पुल सञ्चालनमा आइसकेका छन् ।


