गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले प्रदेश सरकारलाई विभिन्न योजनामा बजेट हालिदिन आग्रह गरेको छ । पालिका अध्यक्ष निमा लामाको टोलीले मुख्यमन्त्री सहित विभिन्न मन्त्रालयमा पुगेर ३९ योजनामा बजेट हालिदिन आग्रह गरेको हो ।
पूर्व साँसद छमबहादुर तमु सहितको एक टोलीले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे तथा विभिन्न मन्त्रालयमा पुगेर पालिकाको बिकासका लागि बजेट हालिदिन अग्राह गरेको पालिका अध्यक्ष लामाले बताए । ‘पालिकालाई प्राप्त बजेटले मात्र बिकास सभ्भव छैन’ उनले भने ‘त्यही भएर प्रदेश सरकारलाई विभिन्न योजनामा बजेट हालिदिन आग्रह गरेका हौ ।’
अध्यक्ष लामाले दिएको जानकारी अनुसार ५ वटा गोरेटो बाटो, ८ वटा झोलुङ्गे पुल, ६ वटा बिद्यालय भवन तथा किचन निर्माण, ३ स्थानमा ढल निर्माण तथा २ स्थानको खेल मैदानलाई धेराबार गर्न बजेट माग गरिएको छ ।
त्यस बाहेक पनि पालिकाको तर्फबाट ३ वटा सामुदायिक भवन तथा स्वास्थ्य चौकी निर्माण, ४ वटा पर्यटकीय पदमार्ग, २ वटा गुम्बा निर्माण तथा जस्तापाता खरिद र ढुवानीका साथै खानेपानी, बिद्यालय भवन मर्मत र शिक्षक माग गरिएको अध्यक्ष लामाले जानकारी दिए ।
माग गरिएका योजनाहरुका लागि सम्वन्धित मन्त्रालय तथा मन्त्री संग भेट गरी योजना माग गरिएकोबारेमा मुख्यमन्त्री पाण्डेलाई जानकारी गराएको पनि अध्यक्ष लामाले बताए ।




















