लमजुङ । लमजुङमा गत वर्षको तुलनामा यो वर्ष मह उत्पादनमा वृद्धि भएको छ । यो वर्ष १११ दशमलव ३ टनले मह उत्पादन भएको कृषि ज्ञान केन्द्र लमजुङ जनाएको छ ।
ज्ञान केन्द्रका सूचना अधिकारी विजयी पौडेलका अनुसार यस वर्ष १३ हजार ८५० वटा मौरीका घारबाट सो परिमाणमा मह उत्पादन भएको हो । गत वर्ष १० हजार २५ वटा मौरीका घारबाट ३२ टन मात्र मह उत्पादन भएको थियो ।
यस वर्ष प्रतिकिलो मह ९ सयदेखि १ हजारसम्ममा बिक्री भएको छ । मह बिक्रीबाट ९ करोडभन्दा बढी आम्दानी गरेको ज्ञान केन्द्रले जनाएको छ ।
विसं २०७८ सालमा ११ हजार ५०० वटा मौरीका घारबाट ३० टन मह उत्पादन भएको थियो । त्यस्तै २०७७ सालमा ११ हजार १०० वटा मौरीका घारबाट ३८ टन मह उत्पादन भएको थियो । विसं २०७६ मा ९ हजार ५०० मौरी घारबाट ३४ टन तथा २०७५ सालमा ५ हजार ९०० वटा मौरीका घारबाट ३२ टन मह उत्पादन भएको केन्द्रले जनाएको छ ।
जिल्लामा उत्पादित मह काठमाडौँ, पोखरा, चितवनलगायत र जिल्लाभित्रकै सहरबजारमा खपत हुँदै आएको सूचना अधिकारी पौडेल बताए । जिल्लाका कृषकले आधुनिक मौरी घार र आधुनिक प्रविधिको प्रयोगबाट मह उत्पादन गर्न थालेको पनि उनले जानकारी दिए ।
नेपाल मौरीपालक महासङ्घ जिल्ला शाखा लमजुङका अनुसार जिल्लाको सबैभन्दा बढी उत्पादन हुने सुन्दरबजार नगरपालिका, बेँसीसहर नगरपालिका र मस्र्याङ्दी गाउँपालिका छन् । शाखामा जिल्लाका ३८२ जनाभन्दा बढी मौरीपालक किसान आबद्ध छन् ।



