चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैँडालाई गोली हानी मारेको आरोपमा १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वी चितवनको राप्ती नगरपालिका–६ का टीकाराम बोहोरा भन्ने खेसरबहादुर बोहोरा रहेका छन् ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बोहोरालाई माघ ९ गते हेटौँडा उपमहानगरपालिका–२ चौकीटोलबाट पक्राउ गरिएको थियो । विसं २०७६ भदौ ३१ गते नवलपरासीको अमलटारी क्षेत्रमा गैँडा मारी खाग काटेर लगेको र विसं २०७७ कात्तिक २० गते निकुञ्जको भोसाराघाटको आइल्याण्ड क्षेत्रमा गैँडालाई गोली हानी मारेर खाग काटी लगेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
ती घटनामा बोहोरासहित अन्य २४ जना प्रतिवादी रहेको सूचना अधिकारी तिवारीले जानकारी दिए । उक्त घटनामा संलग्न बोहोरासहित २१ जना पक्राउ परिसकेका छन् भने अन्य ३ जना अझै फरार रहेका छन् । पक्राउ परेका बोहोरालाई बुधबार चितवन जिल्ला अदालतमा पेस गरिएको उनले बताए ।
उनलाई ३ वर्षपछि पक्राउ गरिएको हो ।


