काठमाडौं । स्तन, पाठेघरको मुख र आङ, फोक्सो र ग्याष्ट्रोइन्टेस्टाइनलको क्यान्सर प्रायःजसो महिलाहरूमा हुने क्यान्सरहरू हुन् ।
यी क्यान्सरहरूको जोखिम बढ्दो उमेरसँगै बढ्दछ । जो व्यक्तिको परिवारका सदस्यमध्ये कसैलाई स्तन क्यान्सर वा अन्य अङ्गको क्यान्सर भएको इतिहास छ, त्यस्ता व्यक्तिहरूलाई यो रोग लाग्न सक्ने सम्भावना बढी हुन्छ । त्यसैले त्यस्ता व्यक्तिहरूले नियमित जाँच र परीक्षण गराउनु पर्दछ ।
पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापीलोमा भाइरस (एचपीभी) नामक जीवाणुको कारणबाट हुन्छ । असुरक्षित यौनसम्पर्क राखेमा पाठेघरको मुखको क्यान्सरका साथै यौन रोग एचआईभी लाग्ने जोखिम पनि बढाउँछ ।
धुम्रपान गर्नु फोक्सोको क्यान्सर हुनुको प्रमुख कारक तत्व हो । विशेष गरेर नेपाली समाजमा पुरुष सरह नै महिलाले पनि धुम्रपान गर्ने गरेको देखिन्छ । अस्वस्थ्यकर खानपिन गर्नाले पनि महिलामा क्यान्सर भएको देखिन्छ । जस्तैः बोसोयुक्त खानाको बढी उपभोगले विभिन्न किसिमको क्यान्सर हुने जोखिमलाई बढाउँछ ।
निम्नमध्ये लक्षण देखिएमा चिकित्सक संग सम्र्पक राख्नुहोला :
- स्तनमा गिर्खा, गाँठागुठी देखिएमा ।
- स्तनको निपलबाट असामान्य ढङ्गले विभिन्न रङ्गको तरल पदार्थ बग्न थालेमा ।
- महिनावारी समयमा नहुनु वा अनियमित रगत बगेमा ।
- खोक्दा रगत आएमा ।
- अनायासै शरीरको तौल धेरै घट्न थालेमा ।
स्वस्थकर जीवनशैली अपनाएर माथिका कारक तत्वहरूलाई पन्छाउन सकेमा क्यान्सर हुन सक्ने सम्भावनालाई कम गर्न सकिन्छ । समयमै क्यान्सर रोगको जाँच गर्नाले यसको चाँडो पहिचान गरी सही तरिकाले उपचार गर्न मद्दत गर्दछ ।
क्यान्सर रोगको रोकथाम र व्यवस्थापन कसरी गर्ने ?
- स्तनमा गिर्खा वा गाँठागुठीको समयमै पत्ता लगाउन आफैंले स्तनको परीक्षण गर्ने तरिकाबारे जानकारी सिक्नुहोस् । म्यामोग्राफीबारे आफ्नो चिकित्सकसँग सल्लाह लिनुहोस् ।
- २० वर्षको उमेरदेखि नै नियमित रूपमा प्याप स्मेयर परीक्षण गराएमा पाठेघरको मुखको क्यान्सर समयमै पत्ता लगाउन सकिन्छ ।
- सूर्तिजन्य पदार्थको सेवन र धुम्रपान नगर्ने । यसले क्यान्सर मात्र नभई अन्य विभिन्न रोगहरू लाग्ने जोखिम पनि कम गर्दछ ।
- सन्तुलित आहारलाई बढी जोड दिने र आफ्नो स्वस्थ तौललाई कायम राख्ने ।
- प्रशस्त मात्रामा फलफूल, सागसब्जी र दूधबाट उत्पादित चिल्लो कम भएका सामग्रीको उपभोग गर्ने ।
- स्वस्थ रहन नियमित शारीरिक व्यायाम गर्ने र स्वस्थकर जीवनशैली अपनाउने ।
- यदि शंकास्पद लक्षण देखिएमा वा तपाईंको परिवारमा कोही व्यक्तिलाई पहिला क्यान्सर भएको इतिहास भएमा आफ्नो जाँच गराउनुहोस् ।
- चिकित्सकको सल्लाह लिएर हेपाटाइटिस–बी र एचपीभी विरुद्धको खोप लगाउनुहोस् ।


