गोरखा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्व्यन इकाई गोरखाले किसानहरुलाई सुन्तला जातका फलफुलको बेर्नामा करिब १७ लाख रुपैया भन्दाबढी अनुदान रकम बितरण गरेको छ । सुन्तला जातका फलफुलको उत्पादन बृद्धिमा सहयोग पु¥याउने उद्देस्य सहित परियोजनाले फलफुलका बेर्नामा मात्र १७ लाख ८० हजार ३२४ रुपैया बराबरको अनुदान उपलब्ध गराएको परियोजना कार्यालय गोरखाकी प्रमुख बरिष्ठ कृषि अधिकृत पूर्ण ढुङगानाले जानकारी दिइन ।
‘‘किसानहरुलाई सुन्तला जातको फलफुल खेतीमा तर्फ आर्कषित गर्दै उत्पादन बढाउने परियोजनाको उद्देस्य रहेको छ, उनले भनिन्, ‘‘सोही अनुरुप व्यवसायिक रुपमा सुन्तला जातका फलफुलको खेती गर्ने किसानहरुलाई बेर्नामा अनुदान उपलब्ध गराएको हो ।’’ परियोजना मार्फत कार्यालयबाट गत आर्थिक बर्षमा कुल २४ हजार ११६ वटा सुन्तला जातका फलफुलका बेर्ना खरिद गरेर वितरण गरेको प्रमुख ढुङगानाको भनाई छ ।
परियोजनाले कृषक समुह, सहकारी, कृषि उद्यमीहरुलाई माग आधारमा मात्र नभइ जमिनको क्षमता र आवश्यकताको पहिचान गरी ५० प्रतिसत अनुदानमा फलफुलका बेर्ना वितरण गरेको उनले बताइन् । कार्यालयले बेर्नामा अनुदान उपलब्ध गराएसंगै गत आर्थिक बर्षमा जिल्लामा थप ८० हेक्टर जमिनमा सुन्तला जातको फलफुलको खेती गर्ने क्षेत्रफलमा बृद्धि भएको प्रमुख ढुङगानाको भनाई छ ।
परियोजनाको चक्लाबन्दी खेती, नमुना बगैचा स्थापना तथा क्षेत्र विस्तार कार्यक्रम अन्र्तगत किसानहरुलाई बेर्नामा अनुदान उपलब्ध गराएको हो । ‘‘७ वटा चक्लाबन्दी कार्यक्रम १० हजार ७६५ वटा बेर्ना अनुदानमा वितरण भयो, उनले भनिन्, ‘‘२३ वटा नमुना बगैचा स्थापना कार्यक्रममा ९ हजार १५५ वटा बेर्ना वितरणमा मात्र १४ लाख ९४ हजार रुपैया किसानलाई अनुदान पुगेको छ ।’’
त्यस्तैगरी, क्षेत्र विस्तार कार्यक्रम मार्फत ४ हजार १९६ बेर्ना किसानलाई अनुदानमा वितरण गरिएको उनले बताइन् । परियोजना अन्र्तगत गोरखा नगरपालिका, सहिद लखन गाउँपालिका, धार्चे गाउँपालिका, भीमसेनथापा गाउँपालिका, आरुघाट गाउँपालिका तथा पालुङटार नगरपालिकामा कार्यक्रम सञ्चालन गरिएको हो ।
त्यस्तै परियोजना अन्तरगत नै तनहुँको भानु नगरपालिका–११ र बन्दिपुर गाउँपालिका–६ मा पनि कार्यक्रम सञ्चालन गरेको प्रमुख ढुङगानाले जानकारी दिइन् ।



