मुग्लिन । मग्लिन–नारायणगढ खण्डको मुग्लिन नजिकै पुलबाट त्रिशूली नदीमा खसेको गाडी भारतीय नम्बर प्लेटको बलेरो गाडी भएको पुष्टथी भएको छ । मंगलबार बिहान ५ बजे तिर नदीमा बत्ती बलेको सूचना आएपछि शसत्र प्रहरीको गोताखोर टोलीले खोजबिन गर्दा उक्त कुरा पत्ता लागेको हो ।
नदीमा खसेको उक्त गाडीमा भने कोही पनि मानिस नभेटिएको सशस्त्र प्रहरी बलका डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–५ को ३ नम्बर पुल नजिकबाट त्रिशूली नदीमा गाडी खसेको सूचना पाएपछि गोताखोरको टोली परिचालन गरिएको थियो । तर कस्तो खालको गाडी हो र कहाँबाट कहाँ जाँदै थियो भन्ने केही अहिलेसम्म पनि खुल्न सकेको छैन ।
डुंगासहित त्रिशूली नदीमा परिचालन गरिएको गोताखोरको टोलीले भारतीय नम्बर प्लेटेको बोलेरो गाडी फेला पारेको थियो ।
गाडी खोज्न कुरिनटारस्थित सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन तालिम शिक्षालयबाट ७ जनाको गोताखोरसहित १० जनाको टोली र १७ नम्बर गण चितवनबाट १३ जनाको टोली परिचालन गरिएको थियो ।
त्रिशूली नदीको पानी मुनि गएका सहायक हबल्दारद्वय डिल्ली भट्टराई र मेखबहादुर गुरुङले बोलेरो गाडी रहेको र मान्छे नभएको पत्ता लगाएका हुन् । उक्त गाडीलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ ।




















