काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर १–१ रुपैयाँ घटाएको हो ।
इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले मूल्य घटाएको हो । भारतबाट पेट्रोल प्रतिलिटर १ रुपैयाँ २६ पैसा र डिजेल तथा मट्टीतेलको मूल्यमा प्रतिलिटर ८३ पैसा घटेर आएकाले यही आधारमा मूल्य समायोजन गरी १ रुपैयाँ घटाइएको निगमले जनाएको छ ।
पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ ५० पैसा र डिजेलको मूल्य १५३ रुपैयाँ ५० पैसा कायम भएको छ ।
दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६५ र डिजेलको मूल्य १५५ रुपैयाँ कायम भएको छ ।
त्यस्तैगरी, तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ र डिजेलको मूल्य १५६ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।
ग्यासको मूल्य भने प्रतिसिलिण्डर १ हजार ८९५ रुपैयाँ नै कायम गरीएको छ ।



