पोखरा । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदीकाली गाउँपालिकाले कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आयोजना गरेको ‘दोस्रो माछापच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका भलिबल’ प्रतियोगिताको उपाधि जितेको छ ।
शनिबार सम्पन्न फाइनल खेलमा बागलुङको गलकोट नगरपालिकालाई ३–१ सेटले हराउँदै बौदीकाली च्याम्पियन बनेको हो । उपाधिसँगै उसले ३ लाख पुरस्कार हात पारेको छ । उपविजेता गलकोटले २ लाख पाएको छ ।
खेलको पहिलो सेट गलकोटले २१–२५ अङ्कले जितेको थियो । त्यसपछिका ३ सेट बौदाकालीले आफ्नो पक्षमा पार्न सफल भयो । दोस्रो सेट बौदीकालीले २७–२५, तेस्रो सेट २६–२४ र चौथो सेट २५–१६ अङ्कले जितेको थियो ।
सेमिफाइलनमा बौदीकालीले स्याङ्जाको चापाकोट नगरपालिकालाई पराजित गरी फाइनलमा स्थान बनाएको थियो । यसैगरी गलकोटले कास्कीको अन्नपूर्ण गाउँपालिकालाई हराउँदै फाइनल प्रवेश गरेको थियो । अन्नपूर्ण र चापाकोटलाई जनही ५० हजारका दरले पुरस्कार प्रदान गरिएको थियो ।
प्रतियोगितामा बौदीकालीका अशोक श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले ७ हजार पुरस्कार पाए । उत्कृष्ट स्पाइकर बौदीकालीका सरोज बर्देवा, उत्कृष्ट ब्लकर विश्वास अधिकारी र उत्कृष्ट सर्भर आषिश श्रेष्ठ, उत्कृष्ट डिफेण्डर चापाकोटका राजन दर्लामी मगर, उत्कृष्ट सेटर गलकोटका मीन सुनार र उत्कृष्ट प्रशिक्षक बौदीकालीका सागर विष्ट घोषित भए ।
उनीहरुले जनही ५ हजार पुरस्कार प्राप्त गरेका थिए । विजेता, उपविजेता तथा विधागतरूपमा उत्कृष्ट खेलाडीलाई नेपाली कांग्रेसका सहमहामन्त्री एवं प्रतिनिधिसभाका सांसदद्धय बद्री पाण्डे र जीवन परियार, गण्डकी प्रदेशसभाका सदस्य गणेशमान गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।



