गोरखा । प्रसिद्ध धार्मिक तथा साँस्कृतिक महत्व बोकेको गोरखाको गोरखनाथ कालिका मन्दिरको प्रचारप्रसार गर्दै धामिर्क पर्यटक भित्र्याउन गोरखादेखि गोरखपुरसम्म ‘खिचडी यात्रा’ सुरु भएको छ ।
भारतको उत्तर प्रदेशका भारतीय पर्यटकहरुलाई गोरखा भित्र्याउन आज विहान गोरखाको गोरखनाथ मन्दिरदेखि गोरखपुरमा रहेको गोरखनाथ मन्दिरसम्म १४० जनाको सहभागीतामा धार्मिक यात्रा सुरु भएको हो ।
‘‘प्राचिनकालदेखि नै गोरखाको गोरखनाथ मन्दिरबाट गोरखपुरमा रहेको गोरखनाथ मन्दिरमा खिचडी पठाउने प्रचलन रहेको रहेछ, गौमाता सेवा महासंघ गोरखाका संयोजक होमसिंह बस्न्यातले भने, ‘‘तर गएको २० बर्षभन्दा बढी समयदेखि उक्त परम्परा रोकिएको पाइयो, हामीले हराएको संस्कृतिलाई जोगाउन र गोरखामा धार्मिक पर्यटकको आर्कषण बढाउन गोरखनाथ मन्दिरबाट खिचडी लगेर चढाउन यात्रा सुरु गरेका छौ ।’’
चामल, मासको दाल, ध्यू, नुन, बेसार लगायतका खाद्यबस्तु मिलाएर खिचडी बनाउने गरिन्छ । गोरखनाथ मन्दिरबाट प्रसादको रुपमा खिचडी लिएर उत्तर प्रदेशमा रहेको गोरखनाथ मन्दिरमा माघी पर्वका ब्रहममूर्तको समयमा चढाएपछि मात्र त्यहाँ खिचडी भोग गर्ने परम्परा रहेको बताइन्छ ।
‘‘धार्मिक हिसावले दुवै ठाउँमा रहेको गोरखनाथको महत्व उस्तै छ, संयोजक बस्न्यातले भने, ‘‘धार्मिक दृष्टिकोण दुवै ठाँउलाई जोड्नसके र त्यहाँका झण्डै २४ करोड जनतालाई गोरखाको गोरखानाथसंगको सम्बन्धको बारेमा जानकारी गराउन सके त्यहाँका धार्मिक पर्यटकहरुलाई गोरखा ल्याउन सकिन्छ ।’’
‘‘ शनिबार गोरखानाथ मन्दिरबाट शुभसाईत गरेर आइतवार विहान ७ बजे गोरखबाट खिचडीसंगै बाजागाजा, मंगलधुन, स्वस्तीकवाचन सहित गोरखाबाट गोरखपुर यात्रा आरम्भ गरिएको छ, संयोजक बस्न्यातले भने, ‘‘गोरखपुर पुगेर त्यहाँ स्थित गोरखनाथ मन्दिरमा गोरखाबाट लगेको खिचडी चढाएर हामी गोरखा फर्कन्छौ ।’’
२० बर्षअघिसम्म गोरखाको गोरखानाथ मन्दिरबाट गोरखपुरमा रहेको गोरखनाथ मन्दिरमा खिचडी पुग्ने गरेको भएपनि पछि उक्त परम्परा बन्द भएको बस्न्यातले बताए ।
गोरखाको गोरखनाथ कालिका मन्दिरबाट खिचडी पठाउन छोडेपछि गोरखापुरको गोरखनाथमा नेपाली भूमिबाट थोरै चामल, ध्यू, नुन, मासको दाल, बेसार लगायतका खाद्यबस्तु लगेर गोरखाको गोरखनाथबाट ल्याएको सम्झिएर चढाउने गरेको त्यहाँको पूजारीले जानकारी दिएको उनको भनाई छ ।
परम्परागत धार्मिक तथा सांस्कृतिक परम्पराको जगर्ने गर्न सुरु गरिएको यस संस्कृतिले गोरखामा धार्मिक पर्यटन भित्र्याउन महत्वपूर्ण टेवा पुग्ने विश्वास समेत लिइएको छ ।
खिचडी पुरर्याउने परम्पराको पुनः थालनी गरेसंगै उत्तर प्रदेश र गोरखा बिचको धार्मिक सम्बन्ध अझै बलियो हुँदै जाने र यसले गोरखा जिल्ला भित्रका लाखौ धार्मिक पर्यटक समेत भित्र्याउन सकिने संयोजक बस्न्याले बताए ।







