एजेन्सी । संयुक्त राष्ट्रसङ्घको हेलिकप्टरलाई सोमालियामा आपतकालीन अवतरण गराइएपछि अल–शबाब लडाकू समूहले नियन्त्रणमा लिएका बन्धकमध्ये चार जना युक्रेनी रहेको कीएभले शुक्रबार पुष्टि गरेको छ ।
युक्रेनको विदेश मन्त्रालयका प्रवक्ता ओलेह निकोलेन्कोले आफ्नो फेसबुक पेजमा लेखेका छन्, “उक्त हेलिकप्टर युक्रेनी निजी कम्पनीको हो र संयुक्त राष्ट्रसङ्घले सामान ढुवानीका लागि सञ्चालन गरिरहेको थियो ।”
गाल्मुदुग राज्यको राजधानी धुसामारेबबाट करिब ७० किलोमिटर दक्षिणपूर्वमा रहेको सो हेलिकप्टरमा ९ जना सवार रहेको एएफपीलाई आन्तरिकरूपमा उपलब्ध संयुक्त राष्ट्रसङ्घको ज्ञापनपत्रमा उल्लेख छ । दुर्घटना स्थल इस्लामिक लडाकूहरूद्वारा नियन्त्रिणमा रहेको क्षेत्र हो ।
निकोलेन्कोले लेखेका छन्, “युक्रेनको विदेश मन्त्रालयले सोमालियाली भू–भागमा सरकार विरोधी फौजको नियन्त्रणमा रहेका ४ जना युक्रेनी नागरिकलाई पक्राउ गरेको पुष्टि गरेको छ ।
“सोमालियास्थित संयुक्त राष्ट्रसङ्घीय मिसनको हेलिकप्टर चालक दलका सदस्य हाम्रा नागरिक थिए,” उनले भने । विमानमा ५ जना ‘विदेशी’ पनि रहेको उनले बताए ।
संयुक्त राष्ट्रसङ्घको विज्ञप्तिमा यात्रुलाई बन्दी बनाइएको, १ जनाको मृत्यु भएको र २ जना भागेको उल्लेख गरिएको छ ।
अल–शबाबले १६ वर्षदेखि सङ्घीय सोमाली सरकारविरुद्ध लड्दै आएको छ, जसलाई अन्तर्राष्ट्रिय समुदायको समर्थन प्राप्त छ । अमेरिकाले सन् २००८ देखि नै उनीहरूलाई आतङ्कवादी समूहको रूपमा मान्यता दिँदै आएको छ ।
मुख्य जनसङ्ख्या केन्द्रहरूबाट निष्कासित भएपनि तिनीहरू केन्द्र र देशको दक्षिणको विशाल ग्रामीण क्षेत्रहरूमा भूमिगत रूपमा बसी राजनीतिक र हिंसात्मक गतिविधि सञ्चालन गर्छन् ।


