काठमाडौं । विशेष अदालतले पूर्वडीआईजी महेशविक्रम शाहलाई भ्रष्टाचारी ठहर गर्दै ३ वर्षको जेल सजाय हुने फैसला गरेको छ । शाहलाई ३ वर्ष जेल, १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो र त्यही परिणामको जरिबाना तिराउने फैसला भएको हो ।
शाह क्षेत्रीय तालिम प्रहरी केन्द्र दुधौलीको कार्यालयमा प्रमुख रहेका बेला भ्रष्टाचार गरेको अदालतले ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले भ्रष्टाचार मुद्दाका ४ आरोपितमध्ये शाह र नेपाल प्रहरीका पूर्व सई दिपेन्द्र पनेरुलाई पनि ३ वर्ष नै कैद सजाय सुनाएको छ ।
पनेरुबाट पनि १६ लाख ६९ हजार बिगो र त्यति नै रकम जरिबाना तिराउन फैसला सुनाइएको छ । यही प्रकरणका आरोपितहरू लेखापाल सञ्जीव विशुङ्खे र प्रहरी हवलदार केशवसिंह ऐरीले भने विशेष अदालतबाट सफाइ पाएका छन् ।
भर्ना भएर अन्यत्र पदस्थापन भइसकेका प्रहरी जवानका नाममा तलब भत्ता निकालेर भ्रष्टाचार गरेको भन्दै अख्तियारले २०७६ फागुनमा उनीहरुमाथि मुद्दा दायर गरेको थियो ।
पूर्व पूर्वडीआईजी शाह साहित्यकार समेत हुन् । उनले ‘छापामारको छोरो’ नामक पुस्तकका लेखक शाहले मदन पुरस्कारसमेत पाएका थिए ।



