साँकेतिक तस्बिर
काठमाडौं । अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने कार्यमा संलग्न २ जनालाई प्रहरीले राजधानीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१७ सोह्रखुट्टे बस्ने २६ वर्षीय मोहमद फाजिल र दक्षिणकाली नगरपालिका–३ घर भई ललितपुर महानगरपालिका-१३ बस्ने २७ वर्षीय शालोम सादा लेप्चा जैसी रहेका छन् ।
इन्स्ट्राग्राम मार्फत Sweetbakery_np नामक एकाउन्ट बनाई गाँजा प्रयोग गरी केक र कुकिज बनाई बिक्री गर्ने गरेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीको टोलीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौंको सोह्रखुट्टेबाट पक्राउ गरेको हो ।
उनीहरूले ललितपुर महानगरपालिका–१३ स्थित एकान्त कुनामा घर भाडा लिई प्रयोग गर्दै आइरहेको कोठाबाट गाँजा १ किलो १०० ग्राम, डाँठसहितको गाँजा १ किलो ५६८ ग्राम, केक १ किलो ९०० ग्राम, बटर ९०० ग्राम, कुकिज १ किलो ३२४ ग्राम, माईक्रोओभन १ थान, डिजिटल तराजु १ थान, बेकिङ पाउडर, चक्लेटको फ्लेभर लगायतका विभिन्न सामग्रीहरू समेत प्रहरीले बरामद गरेको जनाएको छ ।
उनीहरूले विगत १ वर्षदेखि गाँजा मिसावट गरिएका केक र कुकिजका विभिन्न प्रकारहरू बनाई अनलाइन डेलिभरी मार्फत आफ्नो अवैध कारोवार संचालन गरिरहेका प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।
यसअघि गाँजा मिसावट गरी अवैध रूपमा केकको विक्री गर्ने काठमाडौं महानगरपालिका–२९ घट्टेकुलो बस्ने २६ वर्षीय विशन मानन्धरलाई ब्यूरोले पुस २० गते पक्राउ गरेको थियो । मानन्धर गाँजाको धुलो, तयारी केकको झोल लगायतका सामानसहित पक्राउ परे पश्चात उनीहरूले पहिले कारोवार गर्दै आइरहेको Sweetbakery_np नामक पेजलाई परिवर्तन गरी sweet bakery_np पेज बनाई कारोवार गरेको समेत अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेकाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।



