काठमाडौं । विवादास्पद तपस्वी रामबहादुर बम्जनको घरबाट प्रहरीले ३ करोड बढी रुपैयाँ बरामद गरेको छ ।
हत्या र यौन हिंसाको आरोपमा पक्राउ परेका बम्जनको घरबाट ३ करोड ३ लाख नेपाली रुपैयाँ र ३० लाख ९२ हजार रुपैयाँबराबरको १७ देशका विदेशी मुद्रा बरामद गरेको सीआईबीका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज पत्रकार सम्मेलन गरेर बम्जनको घरबाट बरामद गरेको रकम तथा सामग्रीसहित उनलाई सार्वजनिक गरेको हो ।
रकमसहित उनको घरबाट बरामद भएको मोबाइल, ल्यापटप लगायत सामाग्री पनि प्रहरीले सार्वजनिक गरेको छ । यस्तै महँगा गाडीहरू पनि बरामद भएका छन् ।
बम्जनविरुद्ध आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको उजुरी परेको छ । जिल्ला अदालत सर्लाहीले २०७६ साल माघ २३ गते पक्राउ पुर्जी जारी गरेयता प्रहरीले बम्जनको खोजीलाई तिब्रता दिएको थियो ।
३ जना युवती र २ जना युवालाई बेपत्ता पारेको आरोपमा उनीविरुद्ध देशका विभिन्न स्थानमा रहेको प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।
लामो समय बाराको हलखोरियामा रहेको जङ्गलमा बसेका बम्जन पछि सिन्धुलीको कमलामाई नगरपालिका–८ मा रहेको जङ्गल अतिक्रमण गरी आश्रम बनाएर बस्दै आएका थिए । बम्जलाई पक्रन प्रहरी टोलीले २०७७ सालको असार ४ गते सिन्धुलीको आश्रममा छापा समेत मारेको थियो ।
सीआईबीले बम्जनलाई जिल्ला अदालत सर्लाहीमा उपस्थित गराउने तयारी गरेको छ ।



