एजेन्सी । भारतका गायक तथा सङ्गीतका उस्ताद राशिद खानको निधन भएको छ ।
प्रोस्टेट क्यान्सरको उपचार गराइरहेका उनको हिजो कोलकाताको एक अस्पतालमा निधन भएको हो ।
भारतीय शास्त्रीय सङ्गीतका चर्चित कलाकार खानको ५५ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले उनको निधनमा शोक व्यक्त गरेकी छिन् । उस्ताद राशिद खानको जन्म उत्तर प्रदेशको बदायूंमा भएको थियो । उनले सानै उमेरदेखि शास्त्रीय सङ्गीत सिकेका थिए ।
उनले हिन्दी चलचित्र ’जब वी मेट’ को ’आओगे जब तुम’ र ’माई नेम इज खान’ को ‘अल्लाह ही रेहम’ जस्ता चर्चित गीत गाउएका थिए । उनले ‘इश्क’, ‘मन्टो’, ‘मौसम’, कादम्बरी’ लगायतका चलचित्रका गीतसमेत गाएका थिए । खानका श्रीमती, २ छोरी र १ छोरा छन् ।


