साँकेतिक तस्बिर
महोत्तरी । महोत्तरीको जलेश्वर–बर्दिबास सडक खण्डमा गए राति २ वटा मोटरसाइकल ठोक्किँदा २ जनाको ज्यान गएको छ भने अन्य २ जना घाइते भएका छन् ।
ज्यान गुमाउनेमा रामगोपालपुर नगरपालिकाको थलही विर्ताका ३० वर्षीय मुकेश चमार र भङ्गहा नगरपालिका–३ का ३२ वर्षीय धमेन्द्र महतो रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी दिलीपकुमार गिरीका अनुसार दुवै मोटरसाइकलका चालकको ज्यान गएको हो । उनीहरुको उपचारका क्रममा ज्यान गएको थियो ।
जलेश्वरबाट बर्दिबास जाँदै गरेको ज ११ प ८०९९ नम्बरको मोटरसाइकल र बर्दिबासबाट जलेश्वरतर्फ आउँदै गरेको प्र २–०२–००४ प १८४० नम्बरको मोटरसाइकल औरही नगरपालिका–१ को वडा कार्यालय नजिकै एक आपसमा ठोक्किएको थियो ।
दुर्घटनामा मोटरसाइकलको पछाडिमा रहेका भङ्गहा–५ का ३१ वर्षीय श्रीराम गोसाई र बर्दिवास नगरपालिका प्रेमनगरका ३६ वर्षीय प्रदीपकुमार यादव घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बाक्लो हुस्सुका कारण तीव्रगतिमा रहेका दुवै मोटरसाइकलका चालकले एकअर्कालाई नदेखेका कारण अचानक ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।


