गोरखा । नेपाली कांग्रेसले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट गोरखाका किरणबाबु श्रेष्ठको उमेद्वारी निश्चित गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गएराति सम्पन्न बैठकले काँग्रेस गण्डकी प्रदेशको महामन्त्री समेत रहेका श्रेष्ठलाई गण्डकी प्रदेशबाट काँग्रेसले राष्ट्रियसभा सदस्य पदको उमेद्वार बनाएको हो ।
पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले आउदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार टुङ्गो लगाएको हो ।
बैठकले गण्डकी प्रदेशबाट पदमबहादुर परियारलाई अपाङ्गता÷अल्पसङ्ख्यक कोटाबाट काग्रेसको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
श्रेष्ठको राजनीतिक जिवनी
बिस २०१४ साल जेष्ठ २५ गते बुवा काजीप्रसाद श्रेष्ठ र आमा नन्दकुमारी श्रेष्ठको कोखबाट जन्मिएका किरणबावु श्रेष्ठको पूख्यौली घर गोरखा नगरपालिका ७ को धारापानीमा हो । ५१ वर्षै लामो राजनीतिक तथा समाजिक परिवर्तनको योद्धाको रुपमा स्थापित उनी गोरखा जिल्लाको काँग्रेस आन्दोलनको एक कर्मठ योद्धाको रुपमा समेत परिचित हुन् । नेपाली काँग्रेस गण्डकी प्रदेशको महामन्त्री समेत रहेका श्रेष्ठ काँग्रेस आन्दोलनको एक इमान्दार नेतृत्वका रुपमा चिनिन्छन् ।
बिगत ५१ बर्ष भन्दाबढी समयदेखि काँग्रेस आन्दोलनमा निरन्तर होमिएका उनी बिस २०२९ सालमा नेपाल बिद्यार्थी संघको सदस्य भएर संक्रिय राजनीतिमा होमिएका थिए । श्रेष्ठ बिस २०३३ सालमा राष्ट्रिय मेलमिलाप नीति लिई जननेता विपी कोइराला, लौहपुरुष गणेशमान सिंह लगायतका शिर्षस्थ नेताहरु स्वदेश आगमनका क्रममा त्रिभूवन विमानस्थानमा स्वागत गर्न पुग्दा मण्डलेहरुको आक्रमणमा समेत परेका थिए ।
२०१७ सालमा पार्टी प्रतिवन्धित भएपछि २०३४ सालमा गठन भएको नेपाली काँग्रेस गोरखाको पहिलो जिल्ला कार्य समितिको सदस्य तथा त्यस यता नेपाली काँग्रेस गोरखाको विभिन्न अवधिमा कार्यसमिति रही काम गरेको अनुभव श्रेष्ठ संग छ ।
२०३६ सालको विद्यार्थी आन्दोलनमा प्रहरीको निर्मम यातना भोगेका श्रेष्ठले त्यतिबेलै १५ दिने जेलमा परेका थिए । काँग्रेस राजनीतिमा सक्रिय उनी २०४० सालमा नेपाली काँग्रेस केन्द्रिय सम्र्पक समितिको सदस्य हुनु पुगे ।
बिस २०३८ सालदेखि २०४५ सालसम्म उनले काँग्रेसको सक्रिय राजनीति गर्दा करिब १ महिना प्रहरीको हिरासत र कारागार जीवन ब्यर्होनु परेको थियो । २०४२ सालको सत्याग्रह आन्दोलमा गोरखा र तनहुँमा गरी ६ महिना जेल जिवन बिताए ।
२०४६ सालको जनआन्दोलन सफल पार्न गोरखा र काठमाडौंमा भूमिगत रहेर सकृयता देखाएका श्रेष्ठले २०५४ सालमा भएको तात्कालिन पृथ्वीनारायण हाल गोरखा नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका थिए ।
नेपाली काँग्रेस गोरखामा २०५७ सालदेखि २०६७ सालसम्म १० बर्षे सचिव अवधी पार गरेका श्रेष्ठले १०औं, ११औं, १२औं र १३औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य भए ।
नेपाली काँग्रेसको केन्द्रीय द्वन्द ब्यवस्थापन विभागको सदस्य समेत भएका श्रेष्ठले २०६३ सालको जनआन्दोलमा सहभागी भए बापत प्रहरीले गिरफ्तार गरेर हिरासतमा परे ।
हाल नेपाली काँग्रेसका महासमिति सदस्य समेत रहेका श्रेष्ठले राजनीति शास्त्रमा एमए र डिप्लोमा ईन पब्लिक एडमिनष्ट्रिेसनसम्मको अध्ययन गरेका छन् ।
उनै श्रेष्ठ यही माघ ११ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा चुनावी संग्राममा होमिएका छन् । गठबन्धनको तर्फबाट उमेद्वारी दिएका श्रेष्ठको जीत निस्चित जस्तै रहेको छ ।




















