पोखरा । राष्ट्रियसभा सदस्य निर्वाचन–२०८० अन्तर्गत गण्डकी प्रदेशमा ३ सिटमा निर्वाचन हुने भएको छ । आगामी माघ ११ गते हुने निर्वाचनमा गण्डकी प्रदेशमा २३० जना मतदाता रहेका छन् । निर्वाचनको तयारीका लागि प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ ।
त्यसैगरी, अन्तिम मतदाता नामावली प्रकाशनलगायत तयारी काम अघि बढाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गण्डकीमा कास्की जिल्ला अदालतका जिल्ला न्यायाधीश ऋषिराम आचार्य निर्वाचन अधिकृत तोकिएका छन् ।
राष्ट्रियसभाका अध्यक्षसमेत रहेका गणेशप्रसाद तिमिल्सिना, राष्ट्रियसभा सदस्यद्वय दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल सकिन लागेकाले ३ सिटमा चुनाव हुन लागेको हो । तिमिल्सिना अन्य, गुरुङ महिला र पन्थ अपाङ्गता–अल्पसङ्ख्यक समूहबाट निर्वाचित भएका थिए । अध्यक्ष तिमिल्सिना र गुरुङ नेकपा (एमाले) र पन्थ कांग्रेसबाट राष्ट्रियसभामा निर्वाचित भएका थिए ।
निर्वाचनको उम्मेदवार मनोनयन नजिकिँदै गरेकाले दलहरू उम्मेदवार छनोटमा लागेका छन् । नेपाली कांगेस, नेकपा (एमाले) तथा नेकपा (माओवादी केन्द्र)ले जिल्ला तथा प्रदेशबाट आकाङ्क्षीहरूको नामावाली पार्टी केन्द्रमा सिफारिस गरिसकेका छन् । यही पुस २३ गते उम्मेदवार मनोनयनको कार्यतालिका रहेको छ ।
गण्डकी प्रदेशमा प्रदेशसभाका ६० र स्थानीय तहका १७० गरी २३० जना मतदाता छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १९ मतभार तोकिएको छ । प्रदेशसभातर्फ ३ हजार १८० र स्थानीय तहतर्फ ३ हजार २३० गरी कुल ६ हजार ४१० मतभार छ ।
प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका प्रदेशसभाका २७ र स्थानीय तहतर्फ प्रमुख र उपप्रमुख गरी ६७ जना मतदाता रहेका छन् । कांग्रेसको कुल मतभार २ हजार ७०४ रहेको छ ।
नेकपा (एमाले)का २२ प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ६८ जना रहेका छन् । एमालेको जम्मा मत भार २ हजार ४५८ हुन आउँछ । माओवादी केन्द्रका प्रदेशसभा सदस्य ८ र स्थानीय तहका प्रमुख–उपप्रमुख ३० गरी कुल ९९४ मतभार छ । प्रदेशमा नेकपा (एकीकृत समाजवादी) का १ प्रदेशसभा सदस्य र १ नगरप्रमुख गरी समाजवादीसँग ७२ मत भार छ ।
गण्डकी प्रदेशसभामा २ सदस्य रहेको राप्रपाको १०६ मत भार छ । राष्ट्रिय जनमोर्चाको स्थानीय तहका प्रमुख–उपप्रमुख गरी ३ जना रहेकाले ५७ मतभार छ । मनाङको निस्याङ गाउँपालिका उपाध्यक्ष छिरिङ गुरुङले स्वतन्त्रबाट जितेको हो । उनको मतभार १९ छ ।




















