राजविराज । बालुवाभित्र लुकाएर राखेर तस्करी गर्न लागेको ठूलो परिमाणको गाँजा सहित १ जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर चौकबाट ठुलो परिमाणमा गाँजा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले बालुवा भित्र लुकाएर राखेको अवस्थामा १ हजार ६ केजी गाँजा बरामद गरेको प्रहरी उपरीक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिए । उनका अनुसार उक्त गाँजा अन्तर्राष्ट्रिय बजारमा ३० देखि ३५ हजार प्रतिकिलो बिक्री हुने गरेको छ ।
गाँजासँगै सवारीधनी टिपर चालक धनकुटाको सहिदभूमि गाउँपालिका–४ का ३२ वर्षीय विशेष राईलाई प्रहरी पक्राउ गरेको प्रउ बज्राचार्यले जानकारी दिए ।



