गोरखा । नेपाल कम्यूनिस्ट पार्टी गोरखाले आज प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै पालिका स्तरमा नै सेवाहरु बिस्तार गर्न माग गरेका छन् ।
पार्टीले शुक्रबार प्रमुख जिल्ला अधिकारी भोला दाहाल मार्फत प्रधानमन्त्रीको कार्यालय सिंहदरबार काठमाडौंलाई ज्ञापन पत्र बुझाउदै गोरखा जिल्लाको सबै पालिका स्तरमा नागरिकता, राष्ट्रिय परिचयपत्र बनाउन र जग्गा किनबेच गर्न पाउनुपर्ने माग गरेका हुन् ।
इन्चार्ज कपिल सी र सेक्रेटरी जानकी सी द्वारा हस्ताक्षरित पत्रमा ‘दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा जनताले सहज पालिका स्तरबाट पाउनुपर्ने सामान्य कामका सुविधाहरु नागरिकता, परिचयपत्र र जग्गा किनबेचका लागी पनि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता’ रहेको भन्दै ‘जुन समय र खर्चका हिसाबले जनताका लागि निकै कष्टकर र समस्यामुलक बनिसकेको छ । यस बारे प्रधानमन्त्री ज्यू को विशेषरुपले ध्यानाकर्षण गराउन चाहान्छौ’ भनेको छ ।
ज्ञापन पत्रमा ‘१० बर्षको जनयुद्व र जन–आन्दोलनले नेपालको राज्य संरचनामा परिवर्तन ल्याइ संघीय राज्य प्रणाली स्थापना गरिएको छ । यसले एक हदसम्म जनताको आकांक्षा र मागलाई संम्बोधन गर्न खोजेको अनुभूत गर्न सकिन्छ’ भन्दै ‘तर अझै पनि बास्तविक संघीयताको निर्माण र अभ्यास गरिएको छैन’ उल्लेख गरिएको छ ।
अन्तमा ‘अतः हाम्रो पार्टीले नेपाल सरकारसंग जोडदार माग गर्दछ की जनतालाई नागरिकता, जग्गा किनबेच, परिचयपत्र जस्ता कामहरु आगामी बर्षदेखी पालिका स्तरबाट उपलब्ध गराइयोस भन्ने माग सहित यो ज्ञापन पत्र जिल्ला प्रशासन मार्फत नेपाल सरकार सम्मानीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष पेस गर्दछौ’ भनिएको छ ।
नेपाल कम्यूनिस्ट पार्टी जिल्ला कार्य समिति, गाेरखाले बुझाएकाे ज्ञापन पत्र



