एजेन्सी । दक्षिण कोरियाका विपक्षी नेता ली जे–म्युङमाथि छुरा प्रहार भएको छ । ली जे–म्युङमाथि दक्षिणी बन्दरगाह सहर बुसानमा आयोजित पत्रकार सम्मेलनमा छुरा प्रहार भएको स्थानीय योनहाप समाचार संस्थाले जनाएको छ ।
सन् २०२२ को राष्ट्रपतीय चुनावमा थोरै मतान्तरले हारेका ली जे–म्युङलाई मंगलबार बिहान घाँटीमा छुरा प्रहार भएको हो । नेता लीलाई आक्रमण गर्ने १ जनालाई प्रहरीले पक्राउ गरिएको बीबीसीले जनाएको छ ।
आक्रमणकारीले शुरुमा नेता लीसँग अटोग्राफ मागेका र अचानक छुरा प्रहार गरेका खबरमा उल्लेख गरिएको छ ।
छुरा प्रहारबाट नेता लीको घाँटीमा गहिरो चोट लागेको छ । ५९ वर्षीय लीले डेमोक्रेटिक पार्टी अफ कोरियाको नेतृत्व गर्दै आएका छन् ।
उनी यसअघिको राष्ट्रपतीय चुनावमा वर्तमान राष्ट्रपति युन सुक–योलसँग ०.७३ प्रतिशतको मतान्तरले पराजित भएका थिए ।


