काठमाडौं । नेपाली भ्लगर उमा चाम्लिङ राई भारतको सिक्किममा पक्राउ परेकी छन् । भिडिओ पोष्टमार्फत साम्प्रदायिक अशान्ति भड्काउने प्रयास गरेको भन्दै भ्लगर राईलाई सदर प्रहरी स्टेशन गान्तोकले पक्राउ गरेको हो । राईलाई पुस १४ गते पक्राउ परेकी हुन ।
सिक्किम क्रोनिकलका अनुसार उनलाई अदालतमा पेश गरी थप अनुसन्धानका लागि ५ दिन प्रहरी हिरासतमा राख्न अनुमति लिइएको छ । उनलाई सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चाकी सदस्य शिला राईले दिएको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको इन्डिया टुडे इनले उल्लेख गरेको छ ।
समाजिक सञ्जालका लागि कन्टेन्ट क्रियटरका रुपमा परिचित राईले पुस १० मा वनझाँक्री बस्ने गुफा र पुस ११ मा चारधाम सिक्किम घुमफिरबारे भिडिओ सामग्री पोष्ट गरेकी थिइन् । त्यसअघि पुस ८ मा सिक्किमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङसँग खिचाएको तस्वीर पोष्ट गरेकी थिइन् । सिक्किम बसाइका क्रममा उनले केही रिल र तस्वीरहरू पनि पोष्ट गरेकी थिइन ।
उनले सिक्किममा साकेला मनाउनका लागि भिडिओमार्फत आह्वान गरेकी थिइन् । त्यसैलाई आधार बनाएर पक्राउ गरिएको जनाएको छ ।
सिक्किममा आगामी सन् २०२४ मा विधान सभा चुनाव हुँदै छ । सिक्किमको सत्तारोहणका लागि वर्तमान मुख्यमन्त्री एवं सिक्किम क्रान्तिकारी मोर्चाका पीएस गोले र पूर्व मुख्यमन्त्री एवं सिक्किम डेमोक्रेटिक फन्टका चाम्लिङ आमनेसामने हुँदै छन् । सिक्किम पुगेर त्यही विधान सभा चुनावका लागि पूर्व मुख्यमन्त्री चाम्लिङको पक्षमा मतदाता प्रभावित पार्न खोजेको आरोप लगाइएको छ ।
सिक्किम क्रान्तिकारी मोर्चाले विज्ञाप्ति जारी गर्दै पूर्व मुख्यमन्त्री चाम्लिङको आडमा लेगसेपमा पुस १४ गते साकेला मनाउनका लागि भिडिओ निमन्त्रणा दिएको, राजनीति प्रेरित भएर सर्वसधारणलाई ध्रुवीकरण गर्न खोजेको आरोप लगाएको छ । किरात राई समुदायले राईलाई पक्राउ गरेकोमा विरोध जनाएको छ । उनलाई रिहा गर्न माग गरेको छ ।


