साँकेतिक तस्बिर
काठमाडौं । प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय प्रतियोगिताको पहिलो छनोट खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कोशी प्रदेशलाई फाइनलमा पुग्नका लागि १४० रनको बलियो लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा एपिएफका कप्तान सीता रानामगर र इन्दु बर्माको उत्कृष्ट ब्याटिङमा निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १३९ रन बनायो । उसका लागि इन्दु बर्माले सर्वाधिक ५६ रनको योगदान दिइन । उनी ५० बलमा ३ चौका र १ छक्का प्रहार गरिन ।
त्यस्तै सीता रानामगरले ३७ बलमा ३ चौका र २ छक्कासहित ४५ रनमा रन जोडिन । रोमा थापाले १८ रन जोड्दा ज्योति पाण्डेले १२ रन बनाइन ।
कोशी प्रदेशका लागि कप्तान रुविना क्षेत्रीले १ विकेट लिइन् । विजेता टोली फाइनल खेल्नेछ भने पराजित हुने टोलीले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ ।



