काठमाडौं । भारतसँगको पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली दक्षिण अफ्रिका विजयी भएको छ । घरेलु टोलीले भारतलाई १ इनिङ्स र ३२ रनले हरायो । योसँगै दक्षिण अफ्रिकाले २ टेस्टको शृङ्खलामा १–० को अग्रता बनाएको छ ।
दोस्रो इनिङ्समा भारत १३१ रनमै अल आउट भएपछि दक्षिण अफ्रिका तेस्रो दिन नै विजयी भएको हो । भारतका विराट कोहलीले ७६ र शुभमन गिलले २६ रन बनाए । अरू कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ दक्षिण अफ्रिकाका नान्दे बर्गेरले ४, मार्को जनसेनले ३ र कागिसो रबाडाले २ विकेट लिए ।
दक्षिण अफ्रिकाले पहिलो इनिङ्समा ४०८ रन बनाएको थियो । दक्षिण अफ्रिकाका डेन एल्गरले सर्वाधिक १८५ रन बनाए । यस्तै मार्को जनसेनले नट आउट ८४ र डेभिड बेदिनघमले ५६ रन बनाए । बलिङतर्फ भारतका जसप्रीत बुमराहले ४ र मोहम्मद सिराजले २ विकेट लिए ।
त्यसअघि सेन्चुरियनको सुपरस्पोर्ट पार्कमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले पहिलो इनिङ्समा २४५ रन बनायो । भारतका केएल राहुलले १०१ र विराट कोहलीले ३८ रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका कागिसो रबाडाले ५ र नान्दे बर्गेरले ३ विकेट लिए ।



