काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक जारी छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ बजेबाट बैठक सुरु भएको हो । बैठकमा कांग्रेसको तर्फबाट विभिन्न मन्त्रालयको नेतृत्व गरेका मन्त्रीहरूले आफूले गरेको कार्यसम्पादनको बारेमा केन्द्रीय समितिलाई अवगत गराउने कार्यसूची रहेको कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले राससलाई जानकारी दिए ।
यस्तै बैठकमा आगामी पुस १६ गते पार्टीले मेलमिलाप दिवस मनाउने सम्बन्धमा, महासमिति बैठकको तयारीलगायतका विषयमा छलफल हुनेछ । त्यसैगरी, राष्ट्रियसभा निर्वाचनमा आवश्यक मापदण्ड र पार्टीले यसअघि नै सुरु गरेको समुदायमा कांग्रेस अभियानका सम्बन्धमा समेत छलफल हुने विश्वकर्माले जानकारी दिए ।


