काठमाडौं । प्रधानमन्त्री कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा कोसी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको छ ।
सुदुरपश्चिमले दिएको ११९ रनको लक्ष्यलाई कोसी प्रदेशले १७ दशमलव ४ ओभरमा २ विकेट गुमाउदै पूरा गर्यो । कोसीको जितमा काजल श्रेष्ठ र कप्तान रुबीना क्षेत्रीले उत्कृष्ट ब्याटिङ गरे । काजलले ४८ बलमा ८ चौकाको मद्धतमा ५४ रन बनाइन भने रुबिनाले ५५ बल खेल्दै ८ चौकाको मद्धतमा ५१ रनको योगदान गरिन । बिमला मलाहले ४ रन जोडिन ।
सुदुरपश्चिमकी अनु कठायतले २ विकेट लिइन । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै ११८ रनको योगफल बनाएको थियो । सुदुरपश्चिमको लागि बिन्दु रावलले सर्वाधिक ३३ रन बनाइन ।
त्यसैगरी सम्झना खड्काले २७ रन जोडिन भने कविता जोशीले २६ रन बनाइन । रेवती धामीले २० तथा रुबी पोडारले २ रन बनाइन । बलिङतर्फ कोसी प्रदेशकी सबनम राई र अपसरी बेगमले समान १–१ विकेट लिएका थिए ।



