गोरखा । खच्चरको हेरालु रामबहादुर गुरूङलाई (कैमी) को उपचारमा समस्या आएपछि उत्तरी गोरखाका समाजसेवीहरुले आर्थिक सहयोग उपलब्ध गराएका छन् । गुरुङको हाल राजधानीको मनमोहन मेमोरियल हस्पिटलमा उपचार जारी रहेको छ ।
केही दिन अगाडी चुमनुब्री गाँउपालिका–५ को बिही बिजममा खच्चर लिएर माछाखोला तर्फ जादै गर्दा गुरूङलाइ भीरबाट खसेको ढुङ्गाले लागेर खुट्टा भच्चिए पछी राजधानीमा उपचाररत छन् ।
उनको उपचारमा आर्थिक अभाव भएपछी चुमनुब्री गाँउपालिका–२ ल्होका साजसेवी छेवाङ ग्याल्जेन लामा र चुमनुब्री गाँउपालिका–७ छेकमपार निवासी छिरिङ फुन्जो लामाले संकलन गरेको ३ लाख ९५ हजार ५०० रुपैयाँ पिडित गुरुङ अस्पतालमा लगेर हस्तान्तरण गरिएको गाँउपालिका अध्यक्ष निमा लामाले जानकारी दिए ।
अध्यक्ष लामाका अनुसार बिरामी गुरुङको उपचारमा पैसाको अभाव भएको भन्ने जानकारी आए लगत्तै उनीहरुले आर्थिक संकलन अभियान सुरु गरेका थिए । अध्यक्ष लामाले आर्थिक सहयोग उपलब्ध गराउने सबैलाई धन्यबाद दिदै अब बिरामीको उपचारमा सहजता आउने विश्वास ब्यक्त गरे ।



