गोरखा । प्रधानमन्त्री एवंम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज गोरखा आउदै छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले सञ्चालन गरिरहेको माओवादी विशेष रुपान्तरण अभियान अन्तरर्गत बारपाक सुलिकोट गाउँपालिका–८ को वडापार्टीको वैठकमा सहभागी हुन उनी गोरखा आउन लागेको पार्टीका गोरखा जिल्ला इन्चार्ज दीपक कोइराला (रुपक) ले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले वडापार्टीको वैठकमा वडाको रिर्पोटिङ लिएर निर्देशनात्मक मन्तव्य राख्ने कार्यक्रम रहेको पनि उनले जानकारी दिए । अभियान अन्तरर्गत देशभरका सातवटै प्रदेशको १–१ वडामा पुग्ने कार्यक्रम अन्तरर्गत उनी गण्डकी प्रदेशमा जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको वडा बारपाक सुलिकोट गाउँपालिकाको पन्द्रुङमा वडा पार्टीको बैठकमा सहभागी हुन लागेको हो ।
बुधबार नै प्रधानमन्त्री प्रचण्डले जराङडाँडामा अवस्थित जनयुद्धका प्रथम सहित दिलबहादुर रम्तेलको स्मृति पार्कको अवलोकन समेत गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा बारपाक सुलिकोट गाउँपालिका जननिर्वाचित अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिए । पार्कको अवलोकनपछि गाउँपालिका कार्यालयको सभाहलमा पालिका भित्रका सम्पूर्ण जनप्रतिनिधिहरुसंग छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रम समेत रहेको उनले बताए ।
त्यस्तैगरी, ताकुकोटमै पार्टीका जिल्ला स्थित अगुवा नेता कार्यकर्ताहरुसंग भेटघाट गर्ने कार्यक्रम पनि तय भएको अध्यक्ष भट्टले जानकारी दिए ।
बारपाक सुलिकोट गाउँपालिकाबाट फर्किए लगत्तै प्रधानमन्त्री प्रचण्डले गण्डकी गाउँपालिकामा पुगेर गाउँपालिकाका जनप्रतिनिधिहरुसंग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । त्यहा उनले गाउँपालिकामा स्थानीय जनतालाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको नेकपा माओवादी केन्द्र गोरखाले जनाएको छ ।


