बागलुङ । बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीको खत्री एग्रो फार्ममा करिब ९ किलोको एउटै काउली फलेको छ । विसं २०६६ मा एउटा प्लाष्टिक टनेलबाट तरकारी खेती थालेका खत्रीले यतिबेला चर्चाका पात्र भएका छन् । दैनिक ज्यालामजदुरी गर्दै आउएका खत्रीको कृषि क्षेत्रको लगाव, मेहनत र निरन्तरताका कारण अहिले १८ रोपनी जग्गामा फैलिएको तरकारी फार्मको मालिक समेत भएका छन् ।
उनको फार्ममा यसपटक ९ किलोको एउटै काउली फलेको छ । खत्रीको अहिले सानाठूला गरी ८ प्लाष्टिक टनेलमा तरकारी खेती गरीरहेका छन् । कृषि क्षेत्रको निरन्तर परीक्षण र मेहनतका कारण खत्रीले मौसमी तथा बेमौसी तरकारी खेतीमा रमाउने क्रममा यसपटक ८ केजी ८८० ग्राम तौल भएको काउली फलेको खत्रीले जानकारी दिए ।
“फार्ममा निकै ठूला काउली फलेका थिए, फार्मको सबैभन्दा ठूलो काउली टिपेर जोख्ने क्रममा ९ केजीको रहेको पाइयो”, खत्रीले भने, “लामो समयको मेहनत र परिश्रमका कारण यो अवस्थामा आउन सफल भएको महसुस भयो ।”
आफ्ना साथीभाइ वैदेशिक रोजगारीका लागि पलायन हुँदै गर्दा खत्रीको मनमा कहिलै विदेश जाने योजना नआएको सुनाए । स्वदेशमै केही गर्न सकिन्छ भन्ने सोचका साथ कृषि कर्ममा तल्लीन खत्रीले वार्षिक १० लाख आम्दानी गर्दै आएको अनुभव सुनाए ।
“चार÷पाँच किलोसम्मको काउली त फलेकै थिए, यसपटक अलि ठूलो काउली फलेपछि जोख्न मन लाग्यो, काउली जोख्दा ९ केजी रहेको पाइयो, स्नोम्याटिक जातको काउली हो भदौमा रोपेको काउली पुसको ७ गते टिपेर जोख्दा ९ केजी रहेको पाइयो, काउलीको तौल गरेको तस्बिर तथा श्रव्यदृश्य कृषि ज्ञान केन्द्रलाई समेत पठाएको छु”, खत्रीले भने ।
अहिले ब्रोकाउली १५ क्विन्टल बिक्री गरेको बताउँदै आफूले बिक्री गरेको काउली र गोलभेँडा गलकोटसम्म निर्यात भएको खत्रीले बताए । खत्रीले यसअघि ६ केजी ५० ग्रामको काउली फलाएका थिए ।
तरकारी खेती फस्टाउँदै गएपछि भाडामा ८ रोपनी र ५ रोपनी बाँझो जग्गालाई सदुपायोग गर्दै खत्रीले व्यावसायिक तरकारी खेती गर्दै आउका छन् । खत्रीको फार्ममा ८ वटा प्लाष्टिक टनेलमध्ये २ वटा हाइटेक र अन्य परम्परागत टनेल रहेका छन् । खत्रीले ९ किलोको काउली फलाउने दिनसम्म आउन कृषि ज्ञान केन्द्र बागलुङको ठूलो प्राविधिक सहयोग रहेको बताए ।



