काठमाडौं । अङ्ग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा पोखरामा यही पुस १२ देखि १६ गतेसम्म पोखरामा ‘२५औँ पोखरा सडक महोत्सव’ आयोजना हुने भएको छ ।
पोखरामा पर्यटन प्रवद्र्धन गर्नका लागि ‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ रेस्टुराँ एण्ड बार एशोसियशन (रेवान) पोखराको आयोजनामा ५ दिने महोत्सव हुन लागेको हो ।
रेवान पोखराले आज काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा महोत्सवका संयोजक विश्वराज पौडेलले आन्तरिक तथा वाह्य पर्यटकलाई अंग्रेजी नयाँ वर्षमा मनोरञ्जन प्रदान गर्नुको साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा लेकसाइडको ३ किलोमिटर क्षेत्र फिस्टेल गेट देखि चौतारा हुँदै जरेवर लेकसाइड सम्ममा महोत्सव गर्न लागिएको जानकारी दिए ।
महोत्सवमा २५ वटा खानाका स्टलहरु, हस्त कला र अर्गानिक खानाका परिकारका स्टलहरु नि:शुल्क रहने उनले बताए ।
त्यस्तै, महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, बोट रेस, खुल्ला भेट्रान टेनिस प्रतियोगिता, वेटररेस लगायतका कार्यक्रम रहने आयोजकले जनाएको छ ।
महोत्सवमा नेपालको पर्यटन क्षेत्रको विकासका लागि टक शोहरु समेत आयोजना गरिने आयोजकले जनाएको छ । त्यसैगरि महोत्सवमा आउने दर्शकका लागि सुरक्षा व्यवस्था कडा पारिएको समेत आयोजकले जनाएको छ ।



