काठमाडौं । दक्षिण अफ्रिकाविरुद्धको ३ खेलको एकदिवसीय सिरिजको उपाधी भारतले जितेको छ । सिरिजको तेस्रो तथा अन्तिम खेलमा घरेलु टोलीलाई ७८ रनले हराउँदै भारतले उपाधि २-१ ले जितेको हो ।
२९७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४५ दशमलव ५ ओभरमा २१८ रनमा अल आउट भयो । दक्षिण अफ्रिकाका लागि ओपनर टोनी डी जोर्जी ८१ रनमा आउट भए । मध्यक्रम र तल्लोक्रम नचल्दा नतिजा दक्षिण अफ्रिकाको पक्षमा गएन ।
कप्तान एडेन माक्ररम ३६, डेविड मिलर १०, हेनरिक क्लासेन २१, केशव महाराज १४ र बेउरान हेन्डिक्सले १८ रन बनाए । भारतका अर्शदीप सिंहले ४, आवेश खान र वासिन्टन सुन्दरले २-२ तथा अक्षर पटेल र मुकेश कुमारले समान १-१ विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९६ रन बनाएको थियो ।
भारतको जितमा सञ्जु स्यामसनले सर्वाधिक १०८ रनको शतकीय इनिङ खेलेका थिए । सञ्जुको यो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो शतक हो ।
तिलक बर्मा ५२ रनमा आउट हुँदा रजत पाटिदार २२, साई सुदर्शन १०, लोकेश राहुल २१ र अक्षर पटेल १ रनमा आउट भए। रिंकु सिंहले ३८ रनको योगदान दिए ।
दक्षिण अफ्रिकाका बेउरान हेन्ड्रिक्सले ३, नान्द्रे बर्गरले २, लिजाड विलियम्स, विवान मुल्डर र केशव महाराजले १-१ विकेट लिए । यसअघि यी २ टोलीबीच भएको ३ खेलको टी-२० सिरिज १-१ को बराबरीमा सकिएको थियो । पहिलो खेल वर्षाका कारण रद्द भएको थियो ।



