जाजरकोट । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको–१० परिकोटको भित्री सडकस्थित च्यारीगाउँ खोला नजिकै ट्रयाक्टर दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ ।
आठबीसकोट–८ स्थित घर्तीगाउँ जाँदै गरेकोे रा १ द १४ नम्बरको ट्रयाक्टर घुम्ती मोड्न खोज्दा दुर्घटना भएको हो । ट्रयाक्टरमा भूकम्पपीडितका लागि अस्थायी टहरा निर्माण गर्न जस्तापाता रहेको प्रहरीले जनाइएको छ ।
दुर्घटनामा परी आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया चुकीको ज्यान गएको इलाका प्रहरी कार्यालय आठबीसकोटका प्रहरी निरीक्षक नवीन मरासिनीले जानकारी दिए । सोही दुर्घटनामा आठबीसकोट–१० स्थित डाँडा भन्ने स्थानका ४८ वर्षीय धनराम सार्की, ५२ वर्षीय भर्दर सार्की र ४७ वर्षीया निर्मला सार्कीको ज्यान गएको इलाका प्रहरी कार्यालय आठबीसकोटले जनाइएको छ ।
दुर्घटना गए राति करिब १०ः१५ बजे भएको कार्यालयले जनाएको छ । दुर्घटनामा अन्य ९ जना घाइते भएका छन् । घाइते हुनेमा आठबीसकोट–८ का ४१ वर्षीय खड्कबहादुर पुन, आठबीसकोट–१० का ३८ वर्षीय रमेश सार्की, आठबीसकोट–८ का १४ वर्षीय दलबहादुर पुन, ५६ वर्षीय कुमार घर्ती, ३४ वर्षीया रमा गुरुङ, ५१ वर्षीय जगवीर सार्की, ३६ वर्षीय जयबहादुर घर्ती, ५८ वर्षीय मने सार्की, ४२ वर्षीय मदन पुन छन् ।
घाइतेको नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उक्त ट्रयाक्टरका चालक आठबीसकोट–९ का २१ वर्षीय गोपाल विक फरार रहेको प्रहरीले जानकारी दिएको छ ।




















