झापा । हात्तीको आक्रमणमा परी झापाको हल्दिबारीमा बुधबार १ जना पुरुषको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा हल्दिबारी गाउँपालिका-२ को वडा कार्यालयका सहयोगी कर्मचारी ६० वर्षीय पाथल राजवंशीको भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिहान घरबाट करिब २०० मिटर पर उनलाई हात्तीले आक्रमण गरेको थियो । २ सातायता झापा, मोरङ र सुनसरीमा गरी हात्तीको आक्रमणबाट ५ जनाको ज्यान गइसकेको छ ।
जंगली हात्ती गाउँ छिरेर स्थानीय बासिन्दाको घर भत्काउने, अन्न र बाली खाइदिने साथै अरु भौतिक सम्पत्तिमा क्षति पुर्याउने क्रम बढेको छ । कतिपय गाउँहरुमा हात्तीबाट बच्न स्थानीय बासिन्दाले रात्रि गस्ती पनि गरिरहेका छन् ।




















