काठमाडौं । नेपाली युवालाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा २ वैदेशिक रोजगार व्यवसायी (मेनपावर सञ्चालक) पक्राउ परेका छन् ।
वैदेशिक रोजगारीका लागि साउदी अरब पठाइदिने भन्दै ठगी गरेको आरोपमा काठमाडौंको पुरानो बानेश्वरस्थित ओसो रिक्रुटिङ मेनपावरका सञ्चालकसहित २ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका–९ घर भई हाल काठमाडौं महानगरपालिका–३१ बस्ने उक्त मेनपावर सञ्चालक ४२ वर्षीय लक्ष्मण विश्वा र जिल्ला काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–१० काभ्रेकी ४० वर्षीया सोफी मल्ल रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
उनका अनुसार निजहरूले ओमबाबु साहलाई साउदी अरेबिया पठाइदिने भन्दै १ लाख २५ हजार रकम लिई सम्पर्कविहीन भएपछि पीडितको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए ।


