काठमाडौं । चीनमा गएरातीको भूकम्पमा ज्यान गुमाउनेको संख्या ११६ पुगेको छ । ४०० बढी घाइते भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । चीनका गान्सु र छिङहाइ प्रान्तमा ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
भूकम्पको केन्द्रविन्दु गान्सुको लिनक्सिया हुईको साला काउन्टीमा १० किलोमिटर गहिरो रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्प लगत्तै भग्नावशेषमा परेका धेरै भवनहरूबाट मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने जिम्मेवारी चीनको आपतकालीन सेवालाई दिइएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले पनि सरकार र प्रशासनका सबै अंगहरूलाई उद्दारमा खटिन निर्देशन दिएका छन् ।
एक सामाजिक सञ्जाल पोष्टका अनुसार गान्सुको राजधानी लान्झाउमा भूकम्पको धक्का महसुश हुनेबित्तिकै विश्वविद्यालयका विद्यार्थीहरू छात्रावासबाट बाहिर निस्किएका थिए ।




















