त्रिवेणी । गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दू भएर गएको भूकम्पका कारण रुकुम पश्चिममा ज्यान गुमाएका व्यक्तिका सदस्यहरुलाई राष्ट्रिय बीमा कम्पनीले बीमा बपतको रकम उपलब्ध गराएको छ ।
कर्णाली प्रदेश सरकारले प्रदेश भित्रका नागरिकको प्राकृतिक विपदबाट ज्यान गएमा प्रतिव्यक्ति २ लाखका दरले राहत रकम उपलब्ध गराउन राष्ट्रिय बीमा कम्पनीसँग २०७६ साल चैत्र १ गतेदेखि लागु हुने गरी प्राकृतिक विपत् दुर्घटना बीमा कार्यक्रम सुरु गरेको थियो ।
सोहीअनुसार बीमा कम्पनीले भूकम्प पीडित क्षेत्रमा पुगेर मृतक परिवारका सदस्य तथा हकवालालाई नगद राहत हस्तान्तरण गरेको हो ।
उक्त कम्पनी, बीमा प्राधिकरण तथा कर्णाली प्रदेश आन्तरिक माामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीलगायतको सहभागितामा आठबीसकोट नगरपालिकाका ३४ मृतकका हकवालालाई ६८ लाख प्रदान गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिए ।
बाँकी ८ मृतकका परिवारलाई भने कागजात नपुगेकाले केही समय लाग्ने बताइएको छ । यस्तै सानीभेरी गाउँपालिकामा ज्यान गुमाएका १२ मृतक परिवारका सदस्यहरुलाई पनि बीमा कम्पनीले २ लाखका दरले राहत उपलब्ध गराएको गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले जानकारी दिए ।
उनका अनुसार मृतकका परिवारलाई वडामै पुगेर २४ लाख उपलब्ध गराइएको थियो । चौरजहारी नरपालिकामा पनि भूकम्पका कारण १ जनाको ज्यान गएको र निजका परिवारले पनि बीमाबापतको रकम पाउन बाँकी रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिए ।
जिल्लामा ४६ मृतकका परिवारले २ लाखका दरले ९२ लाख पाएका छन् भने अझ ९ जनाले रकम पाउन बाँकी छ । गत कात्तिक १७ गते राति भूकम्प जाँदा रुकुम पश्चिमा ५३, सानीभेरी गाउँपालिकाका २ जनाको ज्यान गएको थियो ।


